Search
Close this search box.
Search
Close this search box.

बहुविवाह-सन्तानकाे जन्मदर्ता भएन, विद्यालयले भर्ना गर्न मानेन

बिहान–बेलुका लाउडस्पिरकरहरूमा बज्ने विवाहका गीतहरूले जनकपुरधामको पञ्चमी महोत्सवको जनाउ दिइरहँदा जनकपुरधाम उपमहानगरपालिका– १३, नमुना बस्तीमा बस्ने २५ वर्षीया मण्डल थरकी एक महिला आफ्नो अतीतलाई सम्झिँदै झस्किन्छिन् । १० वर्षअघि आफ्नै भिनाजुसँग विवाहपञ्चमी महोत्सव हेर्न नआएको भए आज यो हविगत हुने नै थिएन भनेर उनी पश्चात्ताप गर्छिन् ।

उनी भन्छिन्, ‘महोत्सव खुसीको हुन्छ । तर, त्यही महोत्सवले मेरो जीवनको सारा खुसी पोख्यो, माइती खोस्यो । माया गर्ने आफ्नै दिदीको सौता बनाइदियो । म कसरी त्यो कालो दिनलाई बिर्सिन सक्छु र ?’

जनकपुरधाम उपमहानगरपालिका– २५, लोहनामा माइती घर भएकी उनी घरपरिवारकै सल्लाहअनुसार आफ्नै भिनाजुसँग विवाह पञ्चमीको महोत्सव हेर्न जनकपुरधाम आएकी थिइन् । लोहनाबाट करिब ५ किलोमिटरको दूरीमा मात्रै रहेको महोत्सवमा उनी दुई दिनसम्म भिनाजुसँगै घुमफिर गरिन् । महोत्सवमा भिनाजुसँग उनी झन् घुलमिल भइन् ।

उनले भनिन्, ‘तेस्रो दिन मैले भिनाजुलाई म घर जान्छु अब भनेँ । तर, भिनाजुले केही दिन जनकपुरमै बस्नू डेरामा । त्यसपछि तिमीलाई घर पुर्‍याइदिन्छु भन्दै मलाई भानु चोकस्थित उहाँको आफ्नो डेरामा लिएर जानुभयो । डेरामा लगेर मलाई बन्द गरिदिनुभयो । मैले यहाँ बस्न सक्दिनँ भन्दा उहाँले केही समय चुप लागेर बस न । म तिम्रो लागि केही खानेकुरा ल्याइदिन्छु भनेर बाहिरबाट कोठाको ढोकामा ताल्चा लगाएर जानुभयो ।’

उनले थप सुनाइन्, ‘एक/दुई घण्टामा मलाई मन पर्ने सामानहरू ल्याइदिनुभयो । हामीले सँगै बसेर खायौँ । त्यसपछि तिमीलाई भोलि घर पुर्‍याइदिन्छु भनेर मलाई फकाउनुभयो । मभन्दा दोब्बर उमेरका भिनाजुले कर गरेपछि मैले मानेँ । त्यो राति हामीसँगै कोठामा बस्यौँ । तर, उहाँले मलाई केही गर्नु भएन । उहाँबाट मलाई कुनै असुरक्षा महसुस भएन । उहाँको व्यवहारले मलाई राम्रो लाग्दै गयो । उहाँले भोलि भन्दाभन्दै दिनहरू काटिराख्नुभएको थियो ।’

छोरी हराएपछि यता घरमा खोजी हुन थालिसकेको थियो । बुबाआमा, भाइहरू सबै उनी हराएकाले चिन्तित थिए । गाउँघरमा उनका बारेमा विभिन्न प्रकारका नकारात्मक टिकाटिप्पणीहरू हुन थालिसकेका थिए । उनी भन्छिन्, ‘भिनाजुलाई सोध्दा पनि उनी महोत्सवबाट एक्लै घर गएको भनेर झुटो कुरा सुनाइदिनुभएछ । म भिनाजुको डेरामा थिएँ । त्यसैले यी कुराहरूबारे मलाई केही थाहा थिएन । मसँग मोबाइल फोन पनि थिएन । भिनाजुलाई सोध्दा तिम्रो भाइ लिन आएपछि जानू भन्नुभएको थियो ।’

उनलाई आफ्नो गाउँ जाने बाटो पनि थाहा थिएन । उनका भिनाजुचाहिँ बीचबीचमा उनलाई डेरामा थुनेर दिदीसँग भेट गर्न धनुषाधामको नौसय बिघा भन्ने ठाउँमा जाने गर्थे । यो कुरा भिनाजुले उनलाई सुनाउँथे । भिनाजुको डेरामा बाहिर ननिस्केरै उनले एक महिना बिताइन् ।

उनले भनिन्, ‘एक दिन भिनाजु नभएको मौकामा कोठाबाट बाहिर निस्केर भानुचोकमा आएकी थिएँ । कुनै गाउँले भेटेँ भने आमाबुवालाई मलाई लिन आउनू भन्ने खबर पठाउने सोच थियो । नभन्दै संयोगले एक जना गाउँले दाइलाई भेट्टाएँ । ती दाइले त मैले भागेर बिहे गरेको हल्ला गाउँमा चलेको सुनाए । अनि मेरो घरपरिवार र आफन्तमा उनले यो कुरा सुनाएछन् । म झस्किएँ, डराएर फेरि कोठामा आएँ ।’

त्यो सुनेपछि उनी अब आफ्नो जिन्दगी के होला भन्ने चिन्ताले केही सोच्न सकिरहेकी थिइनन् । त्यही दिन साँझतिर उनका भिनाजु कोठामा आए । अनि उनले गाउँ समाज र घरपरिवारमा फैलिएको हल्लाबारे सुनाइन् । तर, उनका भिनाजुले केही हुँदैन, चिन्ता नगर्नू भनेर आश्वासन दिए ।

उनले भनिन्, ‘गाउँमा आफ्नो बिहे नै भइसकेको हल्ला चलेको सुनाउँदा पनि भिनाजुले केही हुन्न भनेपछि म झसङ्ग भएँ । अनि मैले भिनाजुलाई केही भयो भने मेरो जिम्मेवारी तपाईंले लिनुपर्छ भनेर भनेँ । उहाँले पनि केही भयो भने तिमीसँग म बिहे गर्छु भनेर भन्नुभो ।’

उनी लेखपढ नगरेकी सिधा केटी थिइन् । कम उमेरकी भएकाले त्यतिबेला उनलाई माया प्रेमका बारेमा त्यति ज्ञान पनि आइसकेको थिएन । केही भयो भने तिमीसँग म बिहे गर्छु भनेकाले उनी भिनाजुसँगै बस्न थालिन् । उनले भनिन्, ‘दुई महिना पूरा हुँदा पनि घरबाट कोही लिन नआएपछि कोठामै भिनाजुले निधारमा सिन्दुर लगाइदिनुभो । त्यसपछि हामी श्रीमान्/श्रीमतीजस्तै भएर बस्न थाल्यौँ ।’

दुवै जना सँगै बस्न थालेको तीन/चार महिनापछि मात्रै घरपरिवारले उनीहरूले बिहे गरेको थाहा पाए । त्यतिबेलासम्म उनको पेटमा गर्भ हुर्किन थालिसकेको थियो । तर, माइतीबाट भिनाजु (श्रीमान्) लाई छोड्न दबाब आयो । उनले मानिनन् । एकचोटि बिहे गरिसकेँ, अब छोड्न सक्दिनँ भनेर भनिदिइन् । उनले भाग्यमा यही लेख्या रहेछ भनेर चित बुझाइन् ।

उनले भनिन्, ‘मैले त्यसो भनेपछि मेरा माइतीले मसँग नाता नै तोडे । दिदीले पनि मलाई कुटपिट गर्नुभो । गल्ती मेरै थियो । उहाँलाई कुनै दोष म दिन्नँ ।’

उनी नाबालिग थिइन् । यसबारेमा उनलाई केही जानकारी थिएन । भिनाजु उनीभन्दा २०/२५ वर्ष जेठो उमेरका थिए । उनी भन्छिन्, ‘मेरा बुवाआमाले मलाई भिनाजुले राखेको ठाउँबाट लिएर गएको भए पनि आज मेरो यो अवस्था हुन्नथ्यो ।आज मसँग माइतीघर हुन्थ्यो, दिदीबहिनी हुन्थे । तर, अब मसँग केही रहेन । जे हुनु थियो भयो, सबै सकियो । अहिले म तीन बच्चाकी आमा बनेकी छु, दुई छोरी र एक छोरा छन् । अब उनीहरूको भविष्यको चिन्ता छ मलाई ।’

श्रीमान्‌ले पहिल्यै दिदीसँग बिहे गरिसकेको हुँदा उनका छोराछोरीको जन्मदर्ता हुन सकेको छैन । जन्मदर्ता नभएकाले नै उनले आफ्ना नानीबाबुलाई स्कुल भर्ना गर्न सकेकी छैनन् । उनले भनिन, ‘एक वर्षअघिसम्म छोराछोरीलाई डेरानजिकैको बोर्डिङ स्कुलमा पढाइरहेकी थिएँ । तर त्यो स्कुलले जन्मदर्ता माग्यो, त्यो बुझाउन नसकेकाले नाम नै काटिदियो ।’

अहिले श्रीमान्‌को नागरिकता दिदीले नै राखेकी छिन्, दिएकी छैनन् । श्रीमान्‌को गाउँमा जग्गाजमिन पनि छ । सबै जग्गाजमिनको स्वामित्व दिदीले नै लिइरहेकी छिन् । उनलाई केही पनि दिइएको छैन । दैनिक मजदुरी गरेर कमाएको केही रकम श्रीमान्‌ले  घरखर्चका लागि दिने गरेका छन् । 

उनी भन्छिन्, ‘मेरा माइतीका बुवाआमा सबै दिदीकै पक्षमा छन्, गाउँ समाजले पनि मलाई सहयोग गरिरहेका छैनन् । श्रीमान् बुढो भइसकेका छन् । अचेल प्राय: दिदीसँग गाउँमै बस्नुहुन्छ ।’

बच्चाहरूको जन्मदर्ता बनाउन भन्दा उनका श्रीमान्‌ले आलटाल गरिरहेको उनी बताउँछिन् । उनका अनुसार, बच्चाको जन्मदर्ता बनाउन जाँदा बहुविवाहको मुद्दा लाग्ने डरले नै उनका श्रीमान् पन्छिने गरेका रहेछन् । तीनवटा बच्चा जन्मिसक्दा पनि उनको विवाह दर्ता भएको छैन । उनले भनिन्, ‘मैले गरेको गल्तीको सजाय मेरा बच्चाहरूले भोगिरहेका छन् । मेरो विवाह दर्ताभन्दा पनि मेरा बच्चाहरूको भविष्यको चिन्ताले म पिरोलिइरहेकी छु ।’

माथिको घटनाजस्तै विवाहित पुरुषसँग प्रेमविवाह गरेकी जनकपुरधाम उपमहानगरपालिका– ८ बस्ने २७ वर्षीया एक खातुन थरकी महिला पनि छोराछोरीको जन्मदर्ता बनाउन नसक्दा सास्ती झेल्न बाध्य छिन् । सात वर्षअघि धनुषाकै सबैला नगरपालिकाका एक ठाकुर थरका पुरुषसँग खातुनको विवाह भयो । लामो समय मलेसिया बसेर फर्केका ठाकुर आफ्नो धर्म परिवर्तन गरी मुस्लिम धर्म अपनाएका थिए । उनी जनकपुरधाम– ८ स्थित मदरसा र मस्जिदमा उनको आउजाउ बढी थियो । उनी मस्जिदमा दैनिक पाँचपटक नमाज पढ्ने गर्थे । मस्जिदमा मौलवीसँग उनले आफूले इस्लाम धर्म अपनाएको र मुस्लिम केटीसँग बिहे गर्ने इच्छा जाहेर गरेका थिए । 

मौलवीसँगको कुराकानीमा उनले आफ्नो बिहे भए पनि पहिलो श्रीमतीसँग सम्बन्धविच्छेक भएको र इस्लाम धर्म अपनाएपछि बुबाआमाले समेत आफूसँग सम्बन्ध तोडेको बताउँथे । मस्दिज आउजाउका क्रममा मस्जिदनजिकै घर रहेकी खातुनलाई ठाकुरले मन पराए । त्यसको भान खातुनलाई पनि भइसकेको थियो । खातुनको पनि पहिलो श्रीमान्‌सँग सम्बन्धविच्छेद भइसकेको थियो । घरको आर्थिक अवस्था दयनीय रहेको खातुनको परिवारजनले छोरीको अर्को बिहे गरिदिने मन बनाइरहेका थिए । त्यत्तिकैमा ठाकुर र खातुन दुवैले आफूहरूबीच प्रेम रहेको र बिहे गर्ने चाहना रहेको बताउँदै मौलवीसामु विवाह गर्ने प्रस्ताव गरे ।

मौलवीले पनि ठाकुरले आफ्नो धर्म परिवर्तन गरिसकेको र पहिलाकी श्रीमतीसँग सम्बन्धविच्छेद भइसकेको अवस्थामा अर्को बिहे गर्न खासै समस्या नहुने भनेर खातुनको परिवारजनलाई सम्झाए र बिहेका लागि राजी गराए । अनि मस्जिदमै दुवैको निकाह गराइदिए । निकाहपश्चात् दुवै जना श्रीमान्/श्रीमतीको रूपमा जनकपुरधाममै डेरा लिएर बस्न थाले । सँगै बसेको चार महिनापछि ठाकुर वैदेशिक रोजगारी लागि कतार गए । यता, केही महिनापछि खातुनले छोरी पाइन् । ठाकुर विदेश गएको ४ वर्ष बित्न लाग्दासमेत नेपाल फर्केका छैनन् । खातुनलाई समयसमयमा घरखर्च भने पठाउने गरेका छन् ।

खातुनको अहिलेसम्म विवाह दर्ता पनि भएको छैन । छोरीको जन्मदर्ता पनि भएको छैन । ठाकुरले पहिलकी श्रीमतीसँग सम्बन्धविच्छेद गरेको भनिए पनि कानुनी रूपमा सम्बन्धविच्छेद भएको छैन । अझै पनि ठाकुरको घरमा उनकी पहिली श्रीमती र छोराछोरी बस्दै आएका छन् ।

यता, खातुनले छोरीको जन्मदर्ता नहुँदा राज्यले मासिक रूपमा दिने पोषण भत्तालगायतका सबै सरकारी सेवा सुविधा पाउन सकेकी छैनन् । जन्मदर्ता नभएकैले गर्दा छोरीलाई विद्यालय भर्ना गर्न पनि सकेकी छैनन् । खातुन भन्छिन्, ‘विद्यालयमा भर्ना गर्न जाँदा जन्मदर्ता माग्छन् । अहिले जन्मदर्ता छैन । जन्मदर्ता बनाउँदा कानुनी रूपमा धेरै झमेला हुने भनेर श्रीमान् पनि यो विषयमा चासो लिइरहेका छैनन् । छोरीको भविष्यलाई लिएर डर लागिरहेको छ ।’

यी माथिका दुई घटना त प्रतिनिधि घटना मात्र हुन् । यस्ता थुप्रै घटनाहरू हाम्रा गाउँ समाजमा पाउन सकिन्छ । एउटा विवाहित पुरुषले पुनः अर्को महिलासँग विवाह गरेर जन्मिने बच्चाहरूको जन्मदर्ता हुन नसक्दा शिक्षालगायत सबै सरकारी सेवा सुविधाबाट वञ्चित हुनुपरिरहेको माथिका घटनाबाटै प्रस्ट हुन्छ । यस्ता घटनाहरू हाम्रो समाजमा व्यापक देखिएको छ ।

यस विषयमा अधिवक्ता विमल मिश्रा भन्छन्, ‘यस्ता घटनाहरू मकहाँ पनि आउने गरेका छन् । नेपाली आमाबुबाबाट जन्म भएका बच्चाको जन्मदर्ता रोक्ने कानुनी व्यवस्था छैन । नयाँ मुलुकी देवानी संहिता आएदेखि बहुविवाहको मुद्दाका डरले यस्ता समस्याहरू आउने गरेका छन् ।’ उनी थप्छन्, ‘तर बहुविवाहको मुद्दाको म्याद हुन्छ, त्यो म्यादभित्र मुद्दा हाले मात्रै मुद्दा लाग्छ । तर, यहाँ त विवाह गरेर वर्षौंदेखि सँगै बसेर दुईवटा बच्चा भइसक्दा पनि बहुविवाहको मुद्दाको डरले स्थानीय तहले जन्मदर्ता बनाइदिइरहेका हुँदैनन् । वा विभिन्न डर देखाएर अभिभावकसँग पैसा तान्ने प्रयासमा हुन्छ ।’

अधिवक्ता उमेश यादव पनि बिहे भएको लामो समय भइसकेपछि बहुविवाहको मुद्दा नलाग्ने र श्रीमान्/श्रीमतीले अदालतबाट नाता कायम गराई विवाह दर्ता र बच्चाको जन्मदर्ता बनाउन सक्ने बताउँछन् ।

बिहे भएको प्रमाण अरु नभए पनि छोराछोरी नै प्रमाण रहेको बताउँदै यादव भन्छन्, ‘श्रीमान्‌/श्रीमतीसँगै रहेको अवस्थामा उनीहरूको नाता कायम गराउन खासै कानुनी जटिलता आइपर्दैन ।’ उनी बच्चाको जन्मदर्ता नहुँदैमा पढाइबाटै वञ्चित गर्नुपर्ने कानुनी प्रवधान नरहेको बताउँछन् ।

‘विद्यालयमा विद्यार्थीको नामकरणको बेलामा जन्मदर्ता अवश्य चाहिन्छ,’ उनले भने, ‘तर तत्काल नहुँदैमा बच्चालाई पढनपाठनबाटै वञ्चितचाहिँ गर्नु हुँदैन । बरु अभिभावहरूलाई जन्मदर्ताका लागि केही समय दिनुपर्छ ।’

नेपालको संविधान २०७२ मा रहेको मौलिक हक र कर्तव्यको धारा ३९ मा बालबालिकाको हकअन्तर्गत प्रत्येक बालबालिकालाई आफ्नो पहिचानसहित नामकरण र जन्मदर्ताको हक हुनेछ भनेर उल्लेख गरिएको छ ।

त्यसैगरी, संविधानको धारा ३१ मा शिक्षासम्बन्धी हकको व्यवस्था गरिएको छ । यसमा प्रत्येक नागरिकलाई आधारभूत शिक्षामा पहुँचको हक हुनेछ भनिएको छ । त्यस्तै, राज्यबाट आधारभूत तहसम्मको शिक्षा अनिवार्य र निःशुल्क पाउने हक हुनेछ भनेर व्यवस्था गरिएको छ । संविधानमै यसरी व्यवस्था गरिएको हुनाले यी ऐनले पनि बच्चाहरूलाई शिक्षाको हक प्रदान गरेको अधिवक्ता यादवले बताए ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *