पालिकासन्देश/ जंगली हात्ती र मानिसहरू बिच द्वन्द कम गर्न कोशिटप्पु वन्यजन्तु आरक्षले रेपिड रेस्पोन्स टिम बनाउने गरेको छ। आरक्षमा रहेका दर्जन बढी रैथाने हात्तीहरु वरपरका गाउँमा प्रबेश गरी क्षति गरेपछि आरक्ष कार्यलयले टिम बनाएको हो। रेपिड रेस्पोन्स टिम(RRT)ले हात्ती आउँदा साइरन सहितको ट्र्याकटरले हात्तीलाई धपाउने गरेको कोशिटप्पु वन्यजन्तु आरक्षका प्रमुख संरक्षण अधिकृत रामचन्द्र खतिवडाले बताए।

आरक्ष आसपासका कुशाहा,श्रीपुर,हरिपुर,मधुवन,कमलपुर लगायत गाउँमा हात्तिले गर्ने जनधनको क्षति कम गर्न यो अभ्यास गरिएको उनले बताए। ‘हामिले नेपाली सेना,नेपाल प्रहरी र स्थानीय समेत सम्मेलित टिम बनाएका छौं,यो टिमले हात्ती आएको खबर पाउन साथ फिल्डमा उत्रन्छ’ उनले भने। खतिवडाका अनुसार मानव वस्तिमा सुचना दिन साइरन समेत जडान गरिएको छ।

बाढि वा अन्य कुनै बिपत्ति पर्दा जो कसैले साइरन बजाउन सक्ने र सबैलाई जानकारी दिन मिल्छ। कोशिटप्पु वन्यजन्तु आरक्षले स्थानीयलाई सर्पको टोकाई,हात-खुट्टा भाँचिदा र बाढीबाट हुनसक्ने घाइतेको प्राथमिक उपचार गर्न तालिम संचालन गर्ने गरेको छ। वन्यजन्तु धपाउँदा हुनसक्ने मानवीय क्षति न्यूनीकरण गर्न प्राथमिक उपचारका तालिमहरु प्रभावकारी हुने स्थानीयको बुझाई छ। “अर्ना खेदाउन जाँदा कहिलेकाहीँ लडेर हात भाचिन्छ,कहिले सर्पले टोक्छ अब हामीलाई नै तालिम दिएपछि अस्पताल पुर्याउन सम्म भ्याईन्छ” स्थानीय राम शाह भन्छन्।
वन्यजन्तु र मानिसबिच द्वन्द कम गर्न आरक्षले बस्ति घेर्नेगरी सोलारबाट चल्ने डिसि करेन्ट सहितको घेरावेरा समेत गरेको छ। सोलार फेन्सले हात्ती लगायत अन्य वन्यजन्तुलाई झट्का दिएर तर्साउछ। आरक्षका प्रमुख संरक्षण अधिकृत खतिवडाले कतिपय स्थानमा स्थानीयले नजानेर करेन्ट सहितको नाङ्गो तार कुँदाउदा वन्यजन्तुको ज्यान जाने समस्या देखिएको उल्लेख गरे। उनले भने, ‘ वन्यजन्तुलाई हामिले नै हो संरक्षण गर्ने,वस्ति पस्नलाई छेकबार लगाउने हो तर करेन्ट लाएर समस्या समाधान हुँदैन।’

झापामा पछिल्लो एक हप्तामा झापामा २ किशोर हात्तीको ज्यान गएको छ भने हात्ती धपाउन जाँदा एक किशोरले ज्यान गुमाएका छन्। स्थानीय पालिका र डिभिजन वन कार्यलय झापाले आवश्यक कदम नचाल्दा सर्वसाधारण देखी वन्यजन्तुको समेत ज्यान जोखिममा परेको छ।

जिल्ला वन कार्यलय झापाका प्रमुख राजकुमार खत्री हात्तीको बढ्दो मृत्युदरले चिन्ता बढाएको बताउँछन्। उनि भन्छन्, “हामिसँग प्रभावित क्षेत्रका जनतालाई चेतना जगाउने कार्यक्रमहरु नै छैनन्,अवस्था हेरी क्षतिपूर्ति दिने व्यवस्था छ तर पुर्व तयारीको रुपमा गर्न सकिने अभ्यास छैन” । कोशिटप्पु वन्यजन्तु आरक्षले जस्तै स्थानीयलाई प्राथमिक उपचार र वन्यजन्तुबारे सचेतना कार्यक्रमहरु गर्नसके मानिस र हात्ती बिचको दुरी घट्ने थियो कि?